धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले संविधानमाथि सत्ताधारी दलहरुका कारण संविधान खतरामा रहेको बताएका छन् ।
सोमबार धनगढीमा एकीकृत समाजवादी कैलालीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दलहरुका गतिविधिका कारण मुलुकमा समस्या देखा परेको बताए ।
मुलुकमा रोजगारी, सुशासन कायम गर्नुको सट्टा सत्ताधारी दलहरुले मुलुकलाई संकटतर्फ धकेलिरहेको उनले बताए । अहिलेको अस्थिरताको कारण पूर्वराजा नभई गणतन्त्रवादी नेताका भएको उनको भनाइ छ । महासचिव घनश्याम भुसालले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सत्ताको दोहोनका लागि मात्र बनेको आरोप लगाए ।
बाहिर यो गठबन्धनको उद्देश्य संविधान संशोधन, स्थिरता भनिए पनि खासमा सत्ता दोहनका लागि मात्र भएको उनले बताए । माओवादीले जुनसुकै अभियान चलाए पनि त्यो प्रचण्डको सत्ताबाट हटाएको रोदन मात्र भएको बताउँदै उनले प्रचण्डको ध्यान सत्तामा मात्रै केन्द्रित भएको बताए ।
नेकपा कालमा देउवालाई फिरौती दिएर पनि संविधान जोगाएको उनको भनाइ थियो । उनले नेकपा एकीकृत समाजवादी गठनपछि आन्दोलनमा जान नसकेका कारण बलियो पार्टी बन्न नसकेको बताए ।















