धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाले चालु आर्थिक वर्षको जेठ महिनाको हालसम्म ३६ वटा पूर्वाधार निर्माणका काम सम्पन्न गरेको छ । उपभोक्तामार्फत २१ र ठेक्का प्रकृयाबाट १५ वटा पूर्वाधार निर्माण योजनाका काम सम्पन्न गरेको हो ।
उपभोक्तामार्फत हुनुपर्ने ७५ पूर्वाधार निर्माणका योजनामध्ये २१ योजनाको काम सम्पन्न भइसकेको र बाँकी असार मसान्तसम्म सम्पन्न हुने पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत नवराज सापकोटाले जानकारी दिए ।
७५ योजना मध्येवाट थप ८ योजनाको सम्झौता हुन बाँकी रहेको उनले बताए । लागत स्टमेट १ करोड ८० लाख रहेको उनले बताए । त्यस्तै, ठेक्का प्रकृयाबाट गर्नुपर्ने ३४ योजनामध्य १५ वटा सम्पन्न भइसकेको र वाँकी १४ योजना असार मसान्तसम्म सम्पन्न हुने उनले बताए ।
ल्यापटप खरिद,सेनेटरी प्याड,भेटेरिनरी औषधी खरिद, प्यारातालको सेमिनार हल,रिटेर्निङ वाल निर्माण सम्वन्धी टेण्डर आह्वान गरिएको उनले बताए । करिब ५ करोडको लागत स्टमेट रहेको उनले बताए ।
एउटा अमानत विधि प्रकृयाबाट ९ योजना सम्पन्न भएको उनले बताए । उनले भने ‘यो विधिबाट कार्यालयसँग सम्वन्धी काम हुन्छ,यस्को कार्यादेश कर्मचारीकै नाममा दिएर काम गराइन्छ ।
उनले भने‘बृक्षारोपण,हल सभा व्यवस्थापन,गेट निर्माण,सूचनापाटी निर्माण,नल्का निर्माण लगायतका काम यो विधिबाट हुन्छन् । यस्मा ९ वटा काम सम्पन्न भइसकेका छन् ।’ लागत अनुमानित बजेट ९ लाख रहेको उनले बताए । त्यस्तै,सोझै खरिद प्रकृया विधिबाट ५ वटा योजना सम्पन्न भएको उनले बताए ।
यो योजनामा सडक बत्ती जडान मर्मत, भैपरी आउने काम आकस्मिक कामका लागि बजेट खर्च हुने तथा यो योजना अन्तर्गत १० लाख सम्मका काम सम्पन्न भएको उनको भनाइ छ ।
पालिकामा चालु आवमा सञ्चालित विकास निर्माणका करिव ५० प्रतिशत योजना सकिने चरणमा रहेको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलकप्रसाद रिजालले बताए ।
उनले भने ‘करिब ५० प्रतिशत काम अन्तिम चरणमा छन् । साना तिना उपभोक्ताबाट हुने योजना काम अहिले पनि भैरहेका छन् । असारमा आएर मात्रै काम गर्ने प्रवृति रोक्नका लागि वडाहरु र निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेका छौँ । केही एक/दुई योजना निर्माण व्यवसायी सम्पर्कमा नआउँदा लामो समयदेखि काम रोकिएको अवस्था छ ।’ जेठ मसान्तभित्रै योजना सम्पन्न गर्न सबै वडाहरुलाई पनि पत्राचार गरिएको उनले बताए ।















