धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पारित भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभामा नीति तथा कार्यक्रमलाई हुन्छ वा हुन्न भनी मत व्यक्त गर्न भन्दै निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै नीति तथा कार्यक्रम सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए । नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षी प्रदेशसभा सदस्यहरु भने मौन बसेका थिए ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिपक्षीसँगै सत्तापक्षका सांसदलेसमेत आलोचना गरेका थिए । नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री कमलबहादुर शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यही जेठ १६ गते प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सरकारको आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा रोजगारी,कृषि,शिक्षा,स्वास्थ्यलगायतका विषयलाई प्राथमितामा राखिएको छ ।















