धनगढी । अछामको बयलपाटा अस्पताल प्रदेश सरकार मातहतमा सञ्चालन गरिने भएको छ । आगामी आवदेखि उक्त अस्पताल प्रदेश मातहतमा सञ्चालन गर्ने सहमति भएको हो ।
आइतबार अस्पताल प्रदेश मातहत सञ्चालन गर्नको लागि न्याय हेल्थ नेपाल र प्रदेश सरकारबीच सम्झौता भएको छ । सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काको उपस्थितिमा १७ बुँदे सम्झौता भएको छ ।
बयलपाटा अस्पतालको पूर्ण स्वामित्व र व्यवस्थापनको जिम्मा प्रदेश सरकारले सम्झौतामा उल्लेख छ । प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र न्याय हेल्थ नेपालका तर्फबाट अध्यक्ष कुन्द दीक्षितले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौताअनुसार आगामी भदौ १ गतेदेखि बयालपाटा अस्पताललाई औपचारिक रूपमा प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गरिनेछ । उक्त अस्पताल ५० शय्यामा सञ्चालन हुनेछ । आर्थिक अभाव झेलिरहेको अस्पताले ३ महिनाअघि सूचना नै जारी गरेर सेवा रोक्ने अवस्थामा पुगेको जनाएको थियो ।
अमेरिकामा रहेको पोसिवल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पहलमा विशेषज्ञसहितको निःशुल्क सेवा दिइरहेको बयलपाटा अस्पताल पछिल्लो समय विदेशी दाताले सहयोग रकम कटौती गरेपछि सङ्कटमा परेको थियो ।













