काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने नीति र सोच नभएको बताएको छ । कतिपय सञ्चार माध्यममा ‘बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव’ शिर्षकमा समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै माओवादी केन्द्रले उक्त विषयको खण्डन गरेको हो ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कतिपय सञ्चार माध्यममा ुबाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्तावु शिर्षकमा समाचार प्रकाशन भएकोप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको छ । हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ ।’
साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको समेत सापकोटाले बताए ।
















