धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले भारतबाट चोरी भएका लाखौँका गरगहना तथा नगद रकम बरामद गरी सम्बन्धित धनीलाई फिर्ता गरेको छ । भारतको बेंगलुरको कर्नाटकका एस. रमेश बाबुलाई नगद र गरगहना फिर्ता गरेको हो ।
उनको घरबाट २०२५ मे २८ तारिखमा भएको चोरीमा नेपाली कामदारको संलग्नता पुष्टि भएसँग भारतीय प्रहरीले कैलाली प्रहरीसँग सम्पर्क गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुसन्धानको क्रममा चोरीमा संलग्न कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई पक्राउ गरिएको छ ।
उनीहरूसँगको बयानका आधारमा चोरीका गरगहना बिक्री गरिएको कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई समेत पक्राउ गरी ठूलो परिमाणमा चोरीका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बिहीबार स्थानीय जनप्रतिनिधिको रोहवरमा सुनजस्तो देखिने चुरा ९ थान,सुनजस्तो देखिने धातु ४६४ ग्राम,साना-ठूला गरी सुनजस्तो देखिने टुक्रा २३ थान,२१६ ग्राम सुन र ४०० ग्राम चाँदीका अन्य गरगहना सम्बन्धित धनीलाई बुझाएको हो ।
त्यस्तै,भारतीय रुपैयाँ ४४ हजार १२१,नेपाली रुपैयाँ १२ लाख ९२ हजार ३२० र विभिन्न देशका विदेशी मुद्रा १५ हजार ४६५ रुपैयाँ बराबर सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।













