धनगढी । कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका–२ शान्ति टोलका २२ वर्षीय रविनकुमार मल्ल र डोटी पुर्वीचौकी गाउँपालिका–४ का २८ वर्षीय काले भन्ने तेजबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गोदावरी नगरपालिका–२ शान्ति टोलस्थित निज मल्लको घरकोठामा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा खटियामाथि राखेको ब्ल्याङकेटको कभरभित्र प्लास्टिकको पोकामा लुकाइ राखेको ९ ग्राम ६० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित शुक्रबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना मल्ल र खड्कालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













