धनगढी । कञ्चनपुरमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–१ को निगालीमा सर्पले टोकेर गम्भीर घाइते भएकी २८ वर्षीया कमला दमाईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले शुक्रबार राति साढे १२ बजेतिर घरभित्र सुतिरहेको अवस्थामा दमाईलाई सर्पले टोकेको बताए । सर्पले टोकेपछि गम्भीर भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको डीएसपी बोहराले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













