धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक महिलाको छाउगोठमा मृत्यु भएपछि छाउगोठहरू भत्काउन वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डसेर शनिबार मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउपडी गोठहरू भत्काउन निर्देशन दिएको हो ।
नगरपालिकाले उक्त कार्य कार्यान्वयनमा नल्याए सम्बन्धित पक्षलाई कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरिवाना हुने कुरा सम्बन्धितहरूलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । सुदूरपश्चिम क्षेत्रमा अहिले पनि महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घरबाट अलग गोठमा राख्ने प्रचलन कायमै छ ।














