धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले जेन-जी पुस्ताका जायज माग छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेशको शान्ति सुरक्षा सम्बन्धिको बैठकले उक्त निर्णय गरेको हो ।
जेन-जी पुस्तालगायत नयाँ पुस्ताबाट उठाइएका जायज मागहरुप्रति प्रदेश सकार, सरकारी निकाय र संयन्त्र सकारात्मक रहेको सन्देश दिइ छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्न सार्वजनिक आह्वान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।
त्यस्तै जेन-जी लगायत नयाँ पुस्ताले भदौ २३ गते आयोजना गरेको कार्यक्रमको क्रममा ज्यान गुमाउनुहुने मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
सुरक्षा संवेदनशीलता हेरी शान्तिपूर्ण वातावरण निर्माण गर्नका लागि सबै जिल्लाहरुमा आवश्यकता अनुसार राजनीतिक दल, नागरिक समाज एंव सरोकारवालाहरुसँग छलफल तथा समन्वय गर्ने गराउने व्यवस्था मिलाउनेसमेत निर्णय गरिएको जनाइएको छ ।
बैठकमा कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै तहका सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।















