धनगढी । कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो १२:१० देखि लागू हुने गरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सुरक्षाका कारण देखाउँदै निषेधाज्ञा लागू गरेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार सुरक्षाको संवेदनशीलताका कारण धनगढीका केही महत्वपूर्ण स्थानहरूलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको हो।
प्रदेश प्रमुखको कार्यालय र निवास,मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निवास,जिल्ला प्रशासन कार्यालय,बसपार्क क्षेत्र,सबै प्रदेश मन्त्रालय र निवास,पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास,सरकारी कार्यालय क्षेत्र,राजनीतिक दलका पार्टी कार्यालय क्षेत्र,पुष्पलाल चोक क्षेत्र र डिभोटी होटल चोक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि तोकिएका क्षेत्रमा पाँच जना भन्दा बढीको समूह बनाई हिँडडुल गर्न, कुनै सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
















