धनगढी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कैलाली क्षेत्र नं-५ का उम्मेदवार प्रेमबहादुर आलेले निर्वाचन लक्षित प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै आलेले २० बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन ।
पूर्वमन्त्रीसमेत रहेका आलेले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै प्रतिवद्धता सार्वजनिक गरेका छन्।
सार्वजनिक प्रतिवद्धतामा उनले धनगढीको फाफ्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने, धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गर्ने उल्लेख छ ।
सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरि विशिष्टीकृत सेवा विस्तार गर्ने तथा उपचार सेवालाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ।
त्यसै उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० देखि ६०० बेडसम्मको अस्पताल यथासिघ्र सञ्चालन गरि एमबीबीएस पढाइ सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख गरेका छन ।
धनगढी-खुटिया-बिपीनगर-दिपायल हुँदै उरैभन्ज्याङसम्मको नेपाल-भारत-चिन जोड्ने त्रिदेशिय रणनीतिक सडक तथा पुल निर्माणलाई प्राथमिकता दिने, ग्रामीण सडक स्तरोन्नति गर्ने र नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने योजना उनको प्रतिवद्धतामा समेटिएको छ।
उनले लागुऔषध दुर्व्यसनी नियन्त्रण, सीमा क्षेत्रमा कडाइ तथा युवालाई सीपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, सिँचाइ व्यवस्थापन र मलबिउको सहज उपलब्धता सुनिश्चित गर्ने, महिलाको नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्द्धन गर्ने, दलित, महिला, अपाङ्गता भएका व्यक्ति र विपन्न समुदायका अधिकार सुनिश्चित गर्ने विषय पनि प्रतिवद्धतामा समावेश छन् ।













