धनगढी । कैलालीमा चैते धान कृषकको रोजाइमा परेपनि सरकारले तोकेको उचित मूल्य नपाउँदा चिन्तित हुन थालेका छन् । भारतबाट उत्पादित धान सस्तो मूल्यमा गल्ला व्यापारीले खरिद गर्न थालेपछि यहाँका कृषकहरु सरकारले तोकेको मूल्य नपाउनाले चिन्तित हुन थालेका हुन् ।
नेपाल सरकारले धानको मूल्य प्रतिक्विन्टल रु ३ हजार पाँच सय तोकेको भएपनि कृषकहरु भने गल्ला व्यापारीसँग २ हजार चार सयमा बिक्री गर्न वाध्य छन् । चैते धानप्रति कृषकहरुको आकर्षण बढेपनि उचित मूल्य नपाउँदा चिन्तित हुनु परेको कैलालीको भजनी नगरपालिका–३ का कृषक हेमबहादुर साँउदले निशाना नयुजलाई बताए ।
‘मैले गत बर्ष डेढ विगाहा जमिनमा चैते धान लगाएँ । उत्पादन गरिएको ४० क्विन्टल धान गल्ला व्यापारीसँग २ हजार चार सयमा बिक्री गर्नु प¥यो’ उनले दुःखेसो गर्दै भने ।
यसरी कम मूल्यमा धान बिक्री गर्नुपर्दा खर्च असुल हुन पनि समस्या हुने गरेको उनले बताए । छिमेकी राष्ट्र भारतबाट सस्तो मूल्यमा गल्ला व्यापारीहरुले धान गरिद गरेर ल्याउनुले नेपालका कृषकलाई समस्या हुने गरेको उनले बताए ।
यहाँका कृषकले धानको उचित मूल्य पाउन नेपाल सरकारको कडा नियमनको आवश्यक रहेको उनको भनाइ छ । त्यस्तै, भजनी नगरपालिकास्थित उन्नति कृषक समूहले ३५ बिगाहा जमिनमा चैते धानखेती लगायो । समूहले एक बिगाहा जमिनमा ३० क्विन्टल धान उत्पादन ग¥यो । ‘एक बिगाह जमिनमा ३० हजार खर्च हुन्छ’ कृषक समूहका कुम्भ कडायतले भने ‘उत्पादन गरिएको धानको उचित मूल्य कृषले नपाउनुले घाटा व्यहोर्नु परिरहेको छ ।’
समयमा सरकारी काँटा नलाग्नुले कृषकहरुले तोकेको मूल्य पाउन नसकेको उनको भनाइ छ । सरकारी काँटा कृषकले धान बेचेपछि मात्र लाग्ने गरेको उनले बताए । व्यापारिहरु धान खरिद गर्न छिटो आउनाले पनि कृषकलाई समस्या भइरहेको उनको भनाइ छ । कृषकले तोकेको मूल्य पाएको भए राम्रो आम्दानी हुने उनले बताए ।
जिल्लाको कैलारी, जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका, घोडाघोडी, भजनी, गौरीगंगा नगरपालिका लगायतका क्षेत्रमा कृषकहरु चैते धानखेती गर्दै आएका छन् । रोग र कीरा कम लाग्नु,उत्पादन राम्रो हुनु, अरुबाली भित्र्याइ सकेको समयको मौकाको सदुपयोगले पनि चैते धान कृषकको रोजाइमा परेको कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले निशाना न्युजलाई जानकारी दिए ।
कैलालीमा आर्थिक वर्ष २०७९।८० मा १ हजार एक सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकामा ५ हजार ७२० मेट्रिकटन धान उत्पादन भएको उनले बताए । आर्थिक वर्ष २०८०।८१ मा एक हजार एकसय पाँच हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकामा ५ हजार ७५२ मेट्रिकटन धान उत्पादन भएको र आर्थिक वर्ष २०८१।८२ मा एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकामा ८ हजार एक सय मेट्रिकटन धान उत्पादन भएको उनले बताए ।
‘गत वर्ष कृषकले मूल्य पाउन सकेनन्’ उनले भने ‘भारतबाट यहाँका गल्ला व्यापारीले सस्तो मूल्यमा धान खरिद गरी ल्याउनुले यहाँका कृषक समस्या परेका छन् ।’
कृषि ज्ञान केन्द्रले राम्रो धान उत्पादक कृषक समूहलाई अनुदानको पनि व्यवस्था गरेको उनले बताए । गत वर्ष जिल्ला भरिका कृषकका लागि ५ लाख अनुदानको व्यवस्था रहेको उनले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीका बालीसंरक्षण अधिकृत कामना कार्कीले चैते धान स्थानीय तह पकेट विशेष कार्यक्रम अन्तर्गत कैलारी गाउँपालिका र भजनी नगरपालिकामा ४० लाखका दरले बजेट विनियोजन भएको बताइन् ।

















