धनगढी । नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले सुर्खेतमा बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको हत्यामा संलग्न कानुनी कठघरामा ल्याउनुपर्ने बताएका छन ।
विभिन्न क्याम्पसका विद्यार्थीले आज सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडि इनिशा न्यायका लागि गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।
‘यो घटना लोकतान्त्रिक र सभ्य समाजका लागि अत्यन्तै कलंकित र लज्जित हुने, अत्यन्त अपराधिक प्रवृति झल्किने घटनाका रुपमा मैले यसलाई लिएको छु’ उनले भने ‘ यो राज्यलाई,मानवतालाई दिएको चुनौती हो। यसलाई हामीले सामना गर्नुपर्छ । यस प्रकारका अपराधिक प्रवृतिलाई कानुनी कठघरामा ल्याएर कठोर दण्डको विषय बनाउनुपर्छ ।’
उनले अपराधी जतिसुकै शक्तिशाली भएपनि कानुनभन्दा ठूलो कोही छैन भन्ने साबित गर्नुपर्ने बताए ।
उनले भने ‘यसका लागि समाज निरन्तर जागृत हुनुपर्छ, राजनीतिक नेतृत्व इमान्दार हुनुपर्छ र प्रशासनिक नेतृत्वले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ ।’
त्यस्तै, विद्यार्थी नेता पवन सुनारले यस्ता खालका अपरधिक घटना दोहोरिन नदिन सरकारले कठोर कानुन बनाउनुपर्ने बताए ।
उनले कानुनी संरचना बनाउनेहरुले पनि सोच्नुपर्ने अवस्था आएको बताउँदै सदनमा पनि यस्ता विषयहरूको आवाज उठ्नुपर्ने बताए।
उनले भने ‘अहिले रास्वपा झण्डै दुई तिहाई सहित सदनमा पुगेको छ । यस्ता बिषयमा उहाँहरुले पनि सोच्नुपर्ने हुन्छ ।’
कडा कानुनी कारबाही भए यस्ता घटनाहरू कमी आउने उनको भनाइ छ ।
इनिशाको न्यायका लागि दवाब सिर्जना गर्न आयोजित प्रदर्शनमा नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश सभाका सांसदहरू,विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।















