धनगढी । कैलाली कारागारबाट भागेका दुई सय १८ कैदीबन्दी अझै फरार रहेका छन् । गत भदौ २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।
कारागारबाट भागेका छ सय ६५ जना कैदीबन्दी मध्ये हालसम्म चार सय ४६ जनामात्रै फर्किएका कैलाली जिल्ला कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
उनका अनुसार फर्किएका मध्ये चार सय पाँच जना पुरुष र ४१ जना महिला कैदीबन्दी रहेका छन् । एकजना कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए ।
फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेका कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख सापकोटाका अनुसार सो समयमा कारागारमा छ सय ६७ जना कैदीबन्दी रहेका थिए । जसमध्ये ५८ जना महिला थिए ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा छ सय ६५ जना कैदीबन्दी भागेका थिए । एकजना कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एकजना कारागारबाट नभागेको कारागार प्रशासनले जनाएको छ ।
कारागार फर्किएका धेरैजसो कैदीबन्दी आफै सम्पर्कमा आएका तथा केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको कारागार प्रमुख सापकोटाले बताए । प्रहरीले फरार रहेका कैदीबन्दीहरुको खोजी कार्य तीब्र राखेको उनको भनाइ छ ।

















