धनगढी । सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा क्षयरोगका विरामीको संख्या उच्च रहेको पाइएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका नौ जिल्लामध्ये वर्षेनी कैलाली र कञ्चनपुरमा बढी क्षयरोगी फेला परेका छन् ।
निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष प्रदेशमा क्षयरोगी विरामी दर बढ्दै गएको छ । आर्थिक वर्ष ७७÷७८ मा दुई हजार आठ सय २६ जना, आर्थिक वर्ष ७८÷७९ मा तीन हजार चार सय २४ जना, आर्थिक वर्ष २०७९÷८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आर्थिक वर्ष ८१÷८२ मा तीन हजार छ सय ४८ जना विरामी रहेको उल्लेख छ ।
प्रदेश स्वास्थ्य निर्देशनालये उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेशमा एक हजार आठ सय ४० क्षयरोगीका विरामी रहेको उल्लेख छ । नौ जिल्लामध्ये कैलालीमा आठ सय १२ र कञ्चनपुरमा पाँच सय चार विरामी रहेको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ को माघ मसान्तसम्ममा डोटीमा ७८ जना क्षयरोगका बिरामी रहेका छन ।
त्यस्तै, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका विरामी रहेका छन ।
चालु आर्थिक वर्षमा प्रदेशका कुल विरामी संख्यामध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
तथ्यांक अनुसार गत आर्थिक वर्षमा यस प्रदेशमा तीन हजार छ सय ४८ जना नयाँ क्षयरोगी फेला परेका थिए । जस अनुसार सबैभन्दा बढी एक हजार पाँच सय १३ कैलाली र सबैभन्दा कम बाजुरामा एक सय ४१ जना क्षयरोगी फेला परेका थिए ।
्













