धनगढी । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले चार लाख ७६ हजार एक सय ८० पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ ।
विज्ञ केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको अवधिका जिल्लाका १३ वटै स्थानीय तहका भैँसी,राँगा,गाईगोरु,बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो ।
एक लाख ५० हजार छ सय गाईगोरु,भैँसी,राँगालाई खोरेतविरुद्धको खोप तथा दुई लाख ६८ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।
उनका अनुसार सोही अवधिमा ३७ हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप तथा २० हजार पाँच सय ८० बङ्गुरलाई क्लासिकल स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ ।
जिल्लाका १३ वटै स्थानीय तहमा ५२ जना भेटेरिनरी अध्ययन गरेका जेटी/जेटिए तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता एवं तालिम प्राप्त पशु प्राविधिकहरुमार्फत खोप कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका सबै स्थानीय तहका छ लाख आठ हजार चार सय ५० पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।













