धनगढी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ।
नेकपा एमालेका जनवर्गीय संगठनहरूले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
एमाले पार्टी कार्यालय धनगढीबाट सुरु भएको विरोध र्याली विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। र्यालीमा सहभागीहरूले सरकारले राजनीतिक पूर्वाग्रह राख्दै आफ्ना नेताहरूलाई पक्राउ गरेको आरोप लगाउँदै चर्का नाराबाजी गरेका थिए।
जिल्ला प्रशासन कार्यालय अगाडि आयोजित कोणसभामा बोल्दै एमालेका नेताहरूले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन् ।
उनीहरूले सरकारले प्रतिशोधपूर्ण ढंगले अध्यक्ष ओलीसहित कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको आरोप लगाए ।

















