काठमाडौँ । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौँ जिल्ला अदालत लगिँदै छ ।
दुवै जनालाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।
गत भदौमा भएको ‘जेनजी’ आन्दोलन हिंसात्मक बनेपछि भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर्याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
शनिबार बिहानै प्रहरीले जरुरी पक्राउ पुर्जी देखाएपछि ओली आफ्नै गाडीमा प्रहरी परिसर आइपुगेका थिए । उनले आफूलाई पक्राउ गर्नु राज्यको प्रतिशोध भएको टिप्पणी गरेका छन् ।
उनीहरूमाथि मुलुकी अपराध संहिताको ज्यानसम्बन्धी कसुर (लापरबाही र हेलचेक्य्राइँ गरी ज्यान मारेको) मा अनुसन्धान अघि बढाइएको छ ।
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत यो पक्राउ प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन् ।













