धनगढी । सरकारले दलित समुदायसँग औपचारिकरुपमा माफी माग्ने घोषणा गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत दलित तथा ऐतिहासिकरूपमा बहिष्कृत समुदायमाथि विगतमा राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय र विभेदप्रति औपचारिक रूपमा क्षमायाचना गर्ने घोषणा गरिएको हो।
कार्यसूचीमा दलित समुदायले लामो समयदेखि भोग्दै आएको अन्याय, सामाजिक विभेद र अवसरबाट वञ्चित गरिएको अवस्थालाई राज्यले औपचारिक रूपमा स्वीकार गर्ने उल्लेख गरिएको छ।
साथै यसको कार्यान्वयनका लागि सरकारले आगामी १५ दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित विशेष ‘सुधारमुखी कार्यक्रम’ घोषणा गर्ने जनाएको छ ।
‘दलित तथा ऐतिहासिक रुपमा वहिस्कृत समुदायमाथि राज्य,समाज र नीतिगत संरचनाबाट भएका अन्याय,विभेद र अवसरवञ्जनाको औपचारिक स्वीकारोक्ती गर्दे सामाजिक न्याय,समावेशी पुनःस्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न १५ दिन भित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित ‘सुधारमुखी कार्यक्रम’ घोषणा गर्ने’ कार्यसूचीमा भनिएको छ ।













