धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले ७१ औँ स्थापना दिवसको अवसरमा ‘धनगढी घोषणापत्र २०८२’ जारी गरेको छ। पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित पाँच बुँदे घोषणापत्र सार्वजनिक गरिएको हो।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महासंघले संस्थाको स्थापना कालदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका दिवंगत पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संस्थापक सभापति अम्बिका प्रसाद उपाध्याय तथा लीलानाथ ओझा लगायतका स्वर्गीय पत्रकारहरूको योगदानको उच्च मूल्यांकन गरिएको थियो।
घोषणापत्रमा नागरिकको सूचनाको हक, प्रेस स्वतन्त्रता तथा पत्रकारहरूको हकहित र सुरक्षाप्रति महासंघ पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। साथै, सबै पत्रकारलाई आचारसंहिता, नैतिकता र पेशागत मापदण्डको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरिएको छ।
महासंघले वर्तमान बदलिएको राजनीतिक परिस्थितिमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने सरकारका सकारात्मक कदमहरूको समर्थन जनाएको छ। साथै, स्वतन्त्र प्रेस, नागरिक अधिकार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै महासंघले आगामी दिनमा पनि पत्रकारहरूको अधिकार र सुरक्षाका लागि सक्रिय रहने प्रतिबद्धता जनाएको छ।













