धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले आज प्रदेश प्रमुख नजिर मियाँबाट शपथ लिएका हुन् ।
कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले आजै भट्टलाई मन्त्रीमा नियुक्त गरेका थिए । बैतडीबाट निर्वाचित भट्ट यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए ।
वन मन्त्रालय २०८२ असारदेखि मन्त्रीविहीन थियो । असारमा मुख्यमन्त्री शाहले तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका थिए । त्यसयता उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैँसँग राखेका थिए । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका थिए । उक्त दल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको छ ।













