कञ्चनपुर । कञ्चनपुरमा जिप दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यु भएको छ ।
बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ कुगडास्थित पहरीया-कुमगडा भित्री कच्ची सडक खण्डमा से १ ज २९० नं. को जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।
जिप कच्ची सडकबाट अन्दाजी ६० मिटर तल खोल्सामा खसेको र उक्त जिपमा ८ जना सवार मध्ये २ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका-१ बस्ने ६० वर्षीय नन्दराम पार्की,सोही ठाउँकी ६२ वर्षीया कलावतीदेवी बोहराको घटना स्थलमा र जिप चालक कृष्णपुर नगरपालिका-१ बस्ने २४ वर्षीय अर्जुन साउदको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते ५ जनाको निसर्ग अस्पतालमा उपचार भइहेको जनाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













