धनगढी । तेस्रोलिंगी मोनिका शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद भूमिका श्रेष्ठलाई कारबाहीको माग गरेकी छन् ।
मोनिकाले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै भूमिकाले तीन वटा नागरिकता लिएको आरोप लगाउँदै कारबाहीको माग गरेकी हुन् ।
उनले रास्वपाबाट आदिबासी जनजातितर्फ प्रतिनिधिसभा सदस्य बनेकी भूमिकाले पुरुष,महिला र अन्य गरि तीन वटा नागरिकता बनाएको दाबी गरिन् ।
उनले भनिन् ‘हामी पवित्र छौँ । हामी शक्तिशाली पार्टी छौँ भन्ने जुन बालेन सरकारको आवाज छ त्यसमा मैले एउटा इट्टा मात्रै थप्न खोजेको हो । मोनिकाले तीन वटा नागरिकता बनाएकी छन् उनलाई कारबाही गर्नुपर्छ ।’
उनले भनिन् ‘भूमिकाले तीन वटा नागरिकता किन लिइन् । त्यो अपराध हो की होइन् ? त्यस्तो अवस्थामा कारबाही हुने की नाइँ ? त्यस्तो व्यक्तिले राज्यलाई ठगेको हो की होइन् ? अरुलाई नागरिकता हराएको प्रतिलिपि पनि पाउन गाह्रो छ ।’
उनले भूमिकाले राज्यको आँखामा छारो हालेको र राज्यलाई ठगी गरेकोले कारबाही हुनुपर्ने बताउँदै कानून सबैका लागि बराबर हुनुपर्ने बताइन् । उनले आफूले भूमिका बारेमा बोलका कुराहरु कुनै पनि झुटो नभएको दाबी गरिन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ की मोनिका दक्षिण एशियामै अन्य तर्फ नागरिक,राहदानी लिने तथा समलिंगी विवाह गर्ने पहिलो तेस्रोलिंगी हुन् ।

















