धनगढी । डिभिजन वन कार्यालय कैलालीले सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरि बनाइएका ४७ घर टहरा भत्काएको छ । शुक्रबार कार्यालयले वनक्षेत्र अतिक्रमण गरि बनाइएका घर टहरा डोजरको प्रयोग गरि भत्काएको हो ।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख डा.रामविचारी ठाकुरका अनुसार जिल्लाको गोदावरी नगरपालिका–४ स्थित भ्यागुतेपानी,बाँसपानी, हनुमान मन्दिर आसपास, सालिनीबाटिका आसपास लगायतका ठाउँमा वन क्षेत्र अतिक्रमण गरि बनाएका घर टहरा भत्काइएको हो ।
पटक–पटक वन क्षेत्र अतिक्रमण गरि बनाइएका संरचना हटाउन सूचना जारी गरेपनि अटेरी गरेका कारण डोजर प्रयोग गरेर घरटहरा भतकाइएको उनले बताए ।
उनले भने ‘हामीले पटक–पटक वन क्षेत्र अतिक्रमण गरि बनाएका संरचना हटाउन लिखित जानकारी गराएका थियौँ । उहाँहरुले अटेरी गर्नुभयो । त्यसैले अहिले डोजर लगाएर हटाउन वाध्य भएका हौँ ।’
उनका अनुसार ती संरचना भत्काउन नेपाल प्रहरी,सशस्त्र प्रहरी,सशस्त्र वन रक्षक,वन रक्षक तथा डिभिजन वन कार्यालयका कर्मचारी परिचालन गरिएको थियो ।
यसअघि पनि कार्यालयले गोदावरी नगरपालिका–४ स्थित भ्यागुतेपानीमा १६ वटा घर टहरा भत्काइएको डिभिजन वन कार्यलयले जनाएको छ । यस्तै,यसअघि गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्र र वडा नं. ८ स्थित स्याउलेबजारमा पनि वनक्षेत्र अतिक्रमण गरि बनाइएका संरचना हटाइएको थियो ।
वन क्षेत्र अतिक्रमण गरि बनाएका संरचना हटाउने काम निरन्तर चल्ने कार्यालय प्रमुख डा.ठाकुरको भनाइ छ ।



















