धनगढी । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनको गाईमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने अभियानका क्रममा वन कर्मचारीले सडकमा राखिएको टेपो भीरबाट खसालेको भन्ने विषयमा सामाजिक सञ्जालमा फैलिएका आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त क्षेत्र नेपालको अत्यन्त संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रमा पर्ने उल्लेख गर्दै विगतदेखि नै सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी खोका–छाप्रा निर्माण, सरकारी जग्गा कब्जा गर्ने तथा व्यापारिक गतिविधि सञ्चालन गर्ने प्रयास हुँदै आएको जनाएको छ ।
विज्ञप्तिअनुसार केही महिनाअघि उक्त क्षेत्रमा पुनः अवैध खोका–छाप्रा निर्माण गरिएका थिए । सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो भने चल्ने अवस्थामा रहेको सवारीसाधन नभई चक्का र इन्जिन निकालिएको तथा फलामे अवशेष मात्र रहेको कार्यालयको दाबी छ । उक्त सामग्री वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले त्यहाँ राखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको भनिएको छ ।
वन कार्यालयले करिब एक महिनाअघि नै उक्त संरचना हटाउन निर्देशन दिइएको भएपनि उक्त टेम्पो नहटाइएको कार्यालयले जनाएको छ ।
जेठ २९ गते अतिक्रमण हटाउने अभियान सञ्चालनका क्रममा वन टोलीले उक्त सामग्री फेला पारेपछि हटाउने प्रयास गरेको र भिरालो तथा असन्तुलित भू–बनोटका कारण कवाडी टेम्पो अस्तिपञ्जर अनियन्त्रित भई दुर्घटनाबश भीरबाट खसेको कार्यालयको दाबी छ । घटनालाई लिएर सामाजिक सञ्जालमा आएको प्रचार वास्तविकताभन्दा फरक रहेको दाबी कार्यालयको छ ।
तर,टेम्पो भीरबाट खसालिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भने,उक्त घटनाको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।



















