धनगढी । कैलालीबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट बस्ने अम्पुरा पाण्डेयलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले बुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, जिल्ला अदालत बझाङको मिति २०७८ मंसिर २६ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ बर्ष ८ महिना १७ दिन कैद सजाय र रु.२५ हजार जरिवाना तोकिएको बझाङको बुङगल नगरपालिका-२ घर भई हाल कैलालीको गोदावरी नगरपालिका-४ गौरीगडा बस्ने ६३ वर्षीय गगने धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
धामीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले बुधबार निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।













