धनगढी । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत कनरी–फूलबारी चक्रपथमा २१० वटा अत्याधुनिक सेन्सरयुक्त स्मार्ट सडक बत्ती जडान गरेको छ ।
उपमहानगरपालिकाका अनुसार वडा नं. १४, १५, १८ र १९ अन्तर्गत पर्ने चक्रपथका २१० वटा विद्युत् पोलमा स्मार्ट सडक बत्ती जडान गरिएको हो ।
वडा नं. १५ को कनरीदेखि वडा नं. १९ को आई गाउँसम्म सडक बत्ती जडान सम्पन्न भएसँगै बुधबारदेखि उक्त क्षेत्रमा रात्रिकालीन उज्यालो विस्तार भएको छ ।
उपमहानगरपालिकाले सडक बत्ती सञ्चालनमा आएपछि रातिको आवतजावत थप सुरक्षित हुने, सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने तथा स्थानीयवासीलाई सहज हुने विश्वास व्यक्त गरेको छ ।
नगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत स्मार्ट सडक बत्ती जडान कार्यलाई निरन्तरता दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

















