धनगढी । कैलालीका किसानले एक वर्षमा रु ११ करोड ४० लाखका सुन्तला बिक्री गरेका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०८२/८३ मा उक्त मूल्यका सुन्तला बिक्री गरेका हुन् ।
गत आवमा जिल्लामा एक हजार नौ सय मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार गत आवमा जिल्लाका पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकामा एक सय ९० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको थियो । त्यस्तै,सुन्तलाको उत्पादकत्व १० मेटिक टन प्रतिहेक्टर रहेको तथा सरदर मूल्य प्रतिकिलो रु.६० का दरले बिक्री भएको उनले बताए ।
उनका अनुसार चुरे गाउँपालिकाको वडा नं. ५ बाहेक सबै वडाहरु तथा मोहन्याल गाउँपालिकाको केही ठाउँहरुमा सुन्तलाखेती हुने गरेको छ ।
त्यस्तै,यहाँ उत्पादित सुन्तला जिल्लाको सहजपुर,खानीडाँडा,अत्तरिया,धनगढी तथा कञ्चनपुर जिल्लामा बिक्री हुने गरेको सूचना अधिकारी बिष्टले जानकारी दिए ।
जिल्लाका चुरे र मोहन्याल गाउँपालिकाका करिब ५ देखि ६ सय किसानले व्यावसायिक सुन्तलाखेती गर्ने गरेको उनले जानकारी दिए ।
कार्यालयले किसानलाई बिरुवा,खाडल निर्माण,ढुवानी,यान्त्रिकरण,सिँचाइ तथा बगैंचा व्यवस्थापनमा ५० प्रतिशत अनुदान दिने गरेको उनले बताए ।
व्यवस्थापनको कमजोरी,ग्रिनिङ भाइरस लगायतका महामारीजन्य रोग तथा जलवायु परिवर्तनका कारण सुन्तला बगैंचा ह्रास हुँदै गएको भएपनि सरकरको सुन्तला उत्पादनको प्रादेशिक लक्ष्यका कारण थप क्षेत्रफल पनि विस्तार हुँदै गएको उनले बताए ।






















