धनगढी । विद्युतमा लगाइएको भ्याट हटाउन तथा विद्युतको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल असुल गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत उज्यालो नेपाल पार्टीले आइतबार धनगढी एलएनचोकमा पनि हस्ताक्षर संकलन गरेको छ ।
पार्टीले काठमाडौंको माइतीघर मण्डलाबाट भदौ १ गते बृहत अभियान सुरु गरेको थियो । सरकारमाथि जनदवाव सिर्जना गर्दै विद्युत् महसुल असुलीमा देखिएको ढिलासुस्ती अन्त्य गर्न माग गर्दै अभियान सुरु गरेको उज्यालो नेपाल पार्टीका केन्द्रिय सदस्य मनोज जैगडी बताए ।
उक्त पार्टीले सर्वसाधारणले उपभोग गर्ने विद्युतमा भ्याट लगाउने तर वर्षौंदेखि बाँकी रहेको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल असुलीमा सरकारले आलटाल गरेको आरोप लगाएको छ । उज्यालो नेपाल पार्टीले बिजुलीमा लगाइएको भ्याट खारेज गर्न, बक्यौता विद्युत् महसुल असुल गर्न, स्वदेशी विद्युत् खपत बढाउन, इन्डक्सन चुलो वितरण गर्न तथा ग्यासको निर्भरता घटाउनसमेत माग गरेको छ ।
विद्युतीय ट्याक्सी आयातको एकाधिकार अन्त्य, राइड सेयरिङमा लगाइएको भ्याट खारेजी र महँगी नियन्त्रण पनि पार्टीका प्रमुख मागहरु रहेका छन् । पार्टीले हस्ताक्षर अभियान जनताको आवाजलाई एकताबद्ध गर्दै सरकारलाई जवाफदेही बनाउने अभियान भएको केन्द्रिय सदस्य जैगडीले बताए ।














