काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको खबरपछि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अपिल गरेका हुन् ।
उनले विपद्को समयमा नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण भएकाले संघ, प्रदेश र स्थानीय सरकारसँगै सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।
बाढीबाट प्रभावित हुन सक्ने क्षेत्रमा तत्काल उद्धार, राहत र मानवीय सहयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रचण्डले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पनि उद्धार र राहतमा परिचालित हुन निर्देशन दिएका छन् ।
उनले स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा मानवीय सेवामा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तिलाई आग्रह गरेका हुन्।






















