दार्चुला- कालापानीस्थित व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान दार्चुला सदरमुकाम खलङ्गामै हुने भएको छ । गत वैशाख ३० गते नेपाली सेनाको हेलिकोप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरेर स्थानीय तह निर्वाचन छाङरु र तिङ्करमै गरिएको थियो । तर अहिले व्यासमा चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुबै गाउँको निर्वाचन जिल्ला सदरमुकाम खलङ्गामै गर्ने गरी तयारी गरिएको हो ।
नेपाली भूमिबाट छाङरू र तिङ्कर जान बाटो नभएका कारण स्थानीय तह निर्वाचनका लागि हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको थियो । अहिले सबै मतदाता जिल्ला सदरमुकाम खलङ्गा बसाइ सर्ने वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै निर्वाचन गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए ।
सर्वदलीय सहमति र वडाको सिफारिसका आधारमा दुबै गाउँको मतदान केन्द्र खलङ्गामै कायम गरिएको उनले बताए । छाङरुको मतदान केन्द्रमा ३८३ र तिङ्करको केन्द्रमा २३४ जना मतदाता छन् ।















