काठमाडौं– सोलुखुम्बुमा एक मतदान अधिकृत मृत भेटिएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा खटिएका मतदान अधिकृत शनिबार बिहान मृत फेला परेका हुन्।
सर्लाहीको हरिपूर्वा नगरपालिका–६ स्थायी घर भएका ५६ वर्षीया बिल्टु राय नेचासल्यान–५ कै आयुर्वेदिक अस्पतालमा कार्यरत थिए।
प्रेसर र सुगरबाट पीडित राय शुक्रबार राति खाना खाएर सुतेका थिए। बिहान भने सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए।
मुचुल्का उठाइसकेपछि उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने साहले जानकारी दिए।















