कञ्चनपुर- आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।
जिल्लाका १३२ वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि कञ्चनपुरमा दुई हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार एक हजारभन्दा बढी प्रहरी र प्रहरीको सहायताका लागि एक हजार सात सय म्यादी प्रहरी परिचालन भएका छन् ।
मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले सुरक्षाको दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन भागमा वर्गीकरण गरी संयुक्त सुरक्षा योजना लागू गरेको छ ।
प्रतिनिधिसभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कुल तीन लाख दुई हजार पाँच सय नौ मतदाता छन् । क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।
कञ्चनपुरमा १३२ मतदानस्थल र ३४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए ।
कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार कञ्चनपुर र भीमदत्त नगरपालिकामा गरेर दुईवटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।















