धनुषा- धनुषाको एभरेष्ट पेपर मिलको बेल्टमा बेरिएर एक मजदुरको मृत्यु भएको छ । जिल्लाको क्षिरेवरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको सो मिलमा काम गर्ने एक मजदुरको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा बस्ने ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।













