धनगढी- कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । उनले २३ हजार १२० मत ल्याएर विजय हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी नकपा माओबादी केन्द्रका कुन्दन चौधरीले १७ हजार ७४९ मत ल्याए ।
यहाँ नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८७४ र राप्रपाका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे । यो क्षेत्रमा ६३ हजार ४४० मत खसेकोमा
४ हजार २१ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
को हुन् गंगाराम चौधरी ?
कैलालीको भजनी नगरपालिका–२ मोहनपुरमा बुबा फुलराम डंगौरा थारु र आमा राजदेवी डंगौरा थरुनीको कोखबाट जन्मिएका हुन् गंगाराम चौधरी । ४४ वर्षीय चौधरी राजनीतिमा भने भर्खरै उदाएका हुन् । उनी २०७४ को निर्वाचनदेखि अग्रपंक्तिमा छन् ।
त्यसअघि उनी नेपाली कांग्रेसको क्षेत्रीय समितिमा उनी आबद्ध थिए । २०७४ को निर्वाचनताका राजपामा आवद्ध भई रेशम चौधरीलाई जिताउन उनले अहम भूमिका खेलेका थिए । उनी अहिले नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।
निम्न परिवारमा जन्मिएका उनले पाठ्यक्रम विषयमा स्नातकोत्तरसम्म गरेका छन् । उनको गैरसरकारी संस्थामा २२ वर्ष कार्य अनुभव छ ।















