सप्तरीमा एक महिलाको आफ्नै श्रीमानद्धारा हत्या भएको छ । सप्तरीको राजविराज नगरपालिमा–१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हत्या आरोपमा रजकका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । प्रहरीका अनुसार राजविराज नगरपालिका–१ स्थित प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा शव फेला परेको हो ।
रजक दम्पती राजविराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए । मृतकका बुबा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी उजुरीका आधारमा आरोपित हिरालाललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।













