कैलाली – निर्वाचन आयोगले निर्देशन जारी गर्दा पनि बाजुरामा अझै मत गणना सुरु हुन सकेको छैन । मतगणना थाल्न आयोगको निर्देशन आएपछि बुधबार साढे ४बजे जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले सर्वदलीय बैठक बोलाएका थिए ।
सर्वदलीय बैठकबाट निकास दिएर मत गणना सुरु गर्ने तयारी भएपनि नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अहिले बिहान ७ बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै हिजोको बैठक सकिएको थियो । अहिलेको बैठकमा पनि एमाले उपस्थित छैन । आफूहरूको माग सम्बोधन नभए सम्म बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताए ।
मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने उनले जानकारी दिए ।
चेतनका परिवारले २२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।















