धनगढी- कैलालीको धनगढीमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति निकाल्दै धनगढीमा बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञा गरिएको क्षेत्र पूर्वमा धनगढी उपमहानगरपालिका १, पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा वडा नं.४ रातोपुल, उत्तरमा वडा नं. ५ सामुदायिक प्रहरी सेवा केन्द्र तथा दक्षिणमा वडा नं. १ र २ स्थित हुलाकी राजमार्ग रहेका छन् ।
बिहीबार बिहान विद्यालय जाने क्रममा एक छात्राको धनगढी वडा नं.५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडर दुर्घटनाबाट मृत्यु भएपछिको स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रजिअ थापाले जारी गरेको आदेशमा उल्लेखित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएको छ । आजै बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
















