इन्डोनेसियामा विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । इन्डोनेसियाको संसदले यस्तो कानुन ल्याउन लागेको हो ।
उक्त कानूनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् । नयाँ कानुन इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ।
नयाँ कानुनमा यसलाई व्यभिचार अन्तर्गतको सजाय भनिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार व्यवसायीहरूले नयाँ कानुनप्रति चिन्ता व्यक्त गरेका छन् ।
विदा मनाउने र लगानी गर्ने गन्तव्यको रूपमा परिचित देशमा यस्तो कानुन लागु भए देशकै अर्थतन्त्र ओरालो लाग्ने व्यवसायीहरूको चिन्ता छ । यसअघि सन् २०१९ मा पनि यस्तै कानुनको मस्यौदा पारित गर्ने तयारी भएसँगै देशव्यापी प्रदर्शन भएको थियो । एजेन्सी













