काठमाडौं- प्रदेशसभा तर्फ गण्डकी र कर्णाली प्रदेशमा थ्रेसहोल्ड कटाएर पनि चार दलहरुले कुनै पनि सिट पाउन सकेनन् । प्रदेशसभा निर्वाचनको समानूपातिकतर्फ १.५ प्रतिशत मत ल्याउने दल सिट बाँडफाटका लागि योग्य हुने भएपनि चार दलले कुनै सिट नपाएका हुन् ।
गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो । तर उनीहरुले एउटा पनि सिट पाएनन् । गण्डकीमा समानुपातिकतर्फ २४ सिट छ । र, ९ लाख ४२ हजार ७९८ मत सदर भएको छ ।
आयोगका अनुसार ७ दलले थ्रेसहोल्ड कटाएका थिए । तर सेन्टलग विधिबाट सिट निर्धारण गर्दा तीन दलले सिट पाएनन् । हाम्रो नेपाली पार्टीले त झण्डै २ प्रतिशत मत पाएको थियो । एकीकृत समाजवादीले १.६० र राष्ट्रिय जनमोर्चाले १.५८ प्रतिशत मत पाएको थियो ।
कर्णाली प्रदेशमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पनि समानूपातिक सिट पाउन सकेन । ४० सदस्यीय प्रदेशसभामा १६ सिट समानूपातिकतर्फ छ र ५ लाख ६२ हजार ३४० मत सदर भएको थियो ।
नेपाल मजदुर किसान पार्टीले करिव ९ हजार अर्थात १.६ मत पाएको छ । सेन्ट लग विधिबाट समानूपातिकको सिट निर्धारण गर्दा थ्रेसहोल्ड कटेपनि कतिपय दलहरुले सिट नपाएको निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।













