काठमाण्डौ- गएराति बादल लागेकाले काठमाण्डौको न्यूनतम तापक्रम बढेको छ । बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । हिजो ५ दशमलव ८ डिग्री सेल्सियस थियो ।
आज पनि बादल लाग्ने सम्भावना रहेकाले काठमाण्डौको दिउँसोको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आज आंशिक बदली हुने सम्भावना छ ।
तर, बादल लागे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिए। उनका अनुसार पानी पार्ने गरी पश्चिमी क्षेत्रबाट नेपालमा कुनै पनि प्रणाली आएको छैन ।
स्थानीय वायुकै असरले मौसम आंशिक बदली भए पनि दुई चार दिनसम्म पानी पर्ने सम्भावना नरहेको उनले बताए। तराईका जिल्लामा बिहानदेखि नै हुस्सु कुहिरो छ । तर हुस्सु कुहिरो दिउँसो हट्ने मौसमविद्ले बताएका छन् ।













