कैलाली- भन्सार छलीमा आफै मुछिएपछि कैलालीको सत्ति भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख सम्पर्कविहीन भएका छन् । भारतीय बजारबाट शुक्रबार पुस १ गते साँझ आफ्नै सरकारी गाडीमा भन्सार छली (अवैध) एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार साह फेला परेका थिए ।
कार्यालय प्रमुख साहको सो कुकृत्य बाहिरिएपछि उनी हाल कार्यालयको कार्यवाहकको जिम्मेवारी अन्य कर्मचारीलाई दिएर सम्पर्कविहीन बनेका हुन् । उनी बिदाको दिन (शनिवार) कार्यालयमा कार्यरत नायब सुब्बा तुलसीराम थारुलाई निमित्त प्रमुखको जिम्मेवारी सुम्पिएर कार्यालय छोडेको बुझिएको छ । निमित्तको जिम्मेवारी पाएका नासु थारुले आफूलाई विना जानकारी निमित्तको जिम्मेवारीसहितको पत्र छोडेर गएको बताए ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुन्य विक्रम खड्काले घटनाबारे सत्यतथ्य बुझ्न सम्बन्धित शाखालाई निर्देशन दिइसकेको बताए । विना भन्सार सामान ल्याउन नपाइने बताउँदै छानबिनपछि कारबाही प्रक्रियामा जाने सूचना अधिकार खड्काको भनाइ छ । भन्सार कार्यालयका कार्यालय प्रमुख साहले भन्सार कार्यालयको सरकारी नम्बर प्लेटको गाडीमा ४ थान एसी ल्याएर आएको अवस्थामा कार्यालय परिसरमै फेला परेका थिए । कार्यालयको से१झ ३०२ नम्बरको गाडीमा प्यानासोनिक कम्पनीको ४ थान एसीसहित रंगेहात फेला परेका हुन् ।
दुई देशीय कस्टम बैठकमा सहभागी हुन भारत गएका शाहले त्यहाँबाटै एसी ल्याएका थिए । भन्सार सम्बन्धी रिपोर्टिङका लागि भन्सार कार्यालय सञ्चारकर्मीहरू पुग्दा कार्यालयमा साह नभएपछि उनलाई पर्खेर बसेका थिए । उनी आएपछि उनको गाडीमा एसी फेला परेपछि उनलाई जिज्ञासा राख्दा घरायसी प्रयोजनका लागि भारतीय बजारबाट एसी खरिद गरेको स्वीकार गरेका थिए । उनीसँग एसीको बिल समेत भेटिएको थिएन । बिल मागेपछि साहले बोली फेरेका थिए ।
















