धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित थारु होमस्टे गाउँ भादा महोत्सव २०७९ सञ्चालन हुने भएको छ । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा उक्त महोत्सव लाग्ने भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।
संरक्षण सम्बद्ध के लाग सक्कुजन करी काम,संस्कृति भेषभुषा राखी हमार पहिचान भन्ने मूल नाराका साथ धनगढी उपमहानगरपालिका–१६ भादा गाउँस्थित दीपेन्द्र चारपाते मा.विको खेलमैदानमा हुने भएको आयोजकले बताएको छ ।
उक्त महोत्सव पौष १४ गतेदेखि १७ गतेसम्म महोत्सव लाग्ने भएको छ । थारु समुदायको परम्परा,संस्कृति,खानपान, भेषभुषा,प्राकृतिक सम्पदाको सदुपयोग,स्थानीय स्वरोजगारको अवसर,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पहिचान पु¥याउने उद्देश्यले महोत्सवका आयोजना गरिएको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति संयोजक लक्ष्मी नारायण चौधरीले बताए।
आगन्तुक पर्यटनलाई मध्यनजर गर्दै २०६८ साल देखी थारु होमस्टेमा महोत्सव सञ्चालन भइरहेको छ। महोत्सवमा थारु समुदायमा पकाइने खानपानका परिकार ,थारु संग्रालय,थारु देउथानको अवलोकन र गाउँको अवलोकन जस्ता मुख्य आर्कषकहरु रहेका छन्।
कोरोना महामारीले केही वर्ष देखी महोत्सवमा प्रभाव परेकोमा यस वर्षदेखि महोत्सव निरन्तर सञ्चालनमा आउने भएको छ। संस्कृतिको उत्थान र प्रचारप्रसारका लागी वडा कार्यालयबाट दुई लाख बजेट समेत विनियोजन गरिएको छ।
हराउँदै गइरहेको संस्कृतिलाई जगेर्ना गर्न यस्ता खालका सांस्कृतिक कार्यक्रमहरूको आयोजन गर्न नितान्त आवश्यक रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १६का वडा अध्यक्ष रामलाल चौधरीले बताए। जस्ले गर्दा पर्यटन क्षेत्रको विकास र सम्बद्र्धनमा निकै टेवा पुग्ने अनुमान गर्न सकिन्छ।
मेलामा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूबाट नाचगान, दैनिक थारु खानपान, थारु सिप कला तथा भेषभुषा, थारु देउथानको अवलोकन भ्रमण , लहरमा गाउँको अवलोकन, थारु संग्राहलाय अवलोकन, रमाइलो मेला काठेपङ्गि शेयर, खुल्ला भलिबल प्रतियोगिता हुने जनाइएको छ । महोत्सवमा ५५ हजार भन्दा बढीले अवलोकन गर्ने जनाइएको छ।















