धनगढी- सुदूरपश्चिम प्रदेशसभाकी पूर्वसदस्य दुर्गा विक दम्पती नेकपा (एमाले) प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभाकी पूर्वसदस्य रहेकी विक र उनका पति एकै दिन एमाले प्रवेश गरेका हुन्। माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान् रामबहादुर विक अब एमालेका नेता बनेका छन्। उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्।
२०७४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी विक नेकपा विभाजनका वेला प्रदेशसभाकी प्रमुख सचेतक समेत बनेकी थिइन्।त्यसपछि एमाले विभाजनका वेला उनी एकीकृत समाजवादीतिर लागिन्। त्यहाँ उनले एकीकृत समाजवादीको प्रमुख सचेतक भएर काम गरिन्। त्यसपछि उनी संसदीय चुनावअघि नेकपा माओवादी केन्द्रतर्फ मोडिएकी थिइन्।
भदौ ३१ मा उनी खुमलटार पुगेर माओवादी प्रवेश गरेकी थिइन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए। उनका श्रीमान् रामबहादुर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट अछामको पञ्चदेवल नगरपालिकाको मेयरका उम्मेदवार थिए। विक कांग्रेसकी अम्बिका चलाउनेसँग पराजित भएका थिए।













