धनगढी– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण अन्तर्गत आइतबार धनगढीमा उत्तरदायी विपद् योजनाबारे सरोकारवालाबीच परामर्श बैठक सम्पन्न भएको छ । परामर्श बैठक युएनडीपी, युनिसेफ, युएन वमेन, डब्लुएफडिएम र एफडब्लुडीको संयुक्त सहकार्यमा आयोजना भएको हो ।
परामर्श बैठकमा विभिन्न चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति कैलालीका फोकल पर्शनसमेत रहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी, धनगढी उपमहानगरपालिकाका वातावरण तथा विपद शाखा प्रमुख लेखनाथ ओझा, अधिवक्ता झंकर कुँवर र सुपर परियोजनाका आषिश शर्माले विपद् जोखिम न्युनीकरणका बारे आफ्नो प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै जिल्ला विपद् व्यवस्थापन समिति कैलालीका फोकल पर्शन जोशीले जोखिम विपद् न्यूनीकरणका लागि समितिले विपद् पूर्वतयारी र राहत वितरणलगायतका कामलाई उच्च प्राथमिकता दिइरहेको बताए । समितिले गर्दै आइरहेको काम र चुनौतीका बारेमा उनले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाका वातावरण तथा विपद शाखा प्रमुख लेखनाथ ओझाले विपद् न्युनीकरणका लागि उपमहागरले गरिरहेका प्रयासबारे आफ्नो प्रस्तुती राखे । उनले उपमहानगरपालिकाले विपद् जोखिम न्युनीकरणका लागि नीतिगत तथा व्यवहारिक रुपमा राम्रो काम गरिरहेको बताए । उपमहानगरले विभिन्न संघ–संस्थासंग मिलेर पनि काम गरिरहेको र फेसबुक र ह्वाट्स एप ग्रुप बनाएर विपद् बारेका सूचनाहरु प्रवाह गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
अधिवक्ता झंकर कुँवरले स्थानीय नीति तथा कानूनबारे आफ्नो प्रस्तुती राखे । उनले स्थानीय नीति तथा कानूनका आधारमा विपद् जोखिम न्युनीकरणका लागि कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले पूर्वसूचना प्रणालीलाई मजबुद बनाउनुका साथै पीडितलाई प्राथमिकताका आधारमा राहत वितरण वितरण गरिनुपर्ने बताए । उनले राहत वितरण कार्यलाई पनि व्यवस्थापन गनुपर्ने सुझाए ।
यस्तै धनगढीमा लागू भएको सुपर परियोजनाका आषिश शर्माले भूकम्प पूर्वतयारी एवम् प्रतिकार्य क्षमता सुदृढीकरण परियोजनाका बारेमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै उनले परियोजनाले अहिले धनगढी उपमहानगरसंग मिलेर विपद् न्युनीकरणका लागि काम गरिरहेको बताए ।
यसैगरि लैंङ्गिक समानता, अपाङ्गकता तथा समावेशीकरण सुदृढीकरणका फोकल पर्शन रिना चौधरीले जोखिम न्युनीकरणका लागि गरिने कार्यहरुलाई प्रभावकारी बनाउन बढी जोखिमयुक्त क्षेत्रमा बढी ध्यान दिनुपर्ने बताइन् । उनले प्राकृतिक र गैरप्राकृतिक विपदको पहिचान गरेर जोखिम न्युनीकरणका लागि लाग्नुपर्ने धारणा राखिन् ।
सो अवसरमा कार्यक्रममा सहभागीहरुले विपद् जोखिमका आधारमा ठाउँ पहिचान गरेर जोखिम न्युनीकरणका कार्यक्रम लागू हुनुपर्ने, राहत वितरणलाई चुस्त दुरुस्त पार्नुपर्नेलगायतका सुझावहरु दिएका थिए । अधिवक्ता रेणु प्रधान श्रेष्ठले सहजीकरण गरेको कार्यक्रमको समिक्षासहित समापन युएन वमेनकी समा श्रेष्ठले गरेकी थिइन् ।













