धनगढी – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेकाे माैसमविद्ले बताएका छन् ।
विभागले आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य,सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।















