धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरेको सूचना निकालेको छ ।
‘सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौँ’ सचिव देवबहादुर बोगटीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
बिहीबार बसेको बैठकले सभामुख छान्न नसकेपछि आज ११ बजे सभामुखको पुन निर्वाचन गर्ने निर्णय गरिएको थियो । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुवै उम्मेदवारले बहुमत पाउन सकेनन् ।














