धनगढी- सुदूर पश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाई वाई एसइई आइडलको आज धनगढीमा ३ वटा अडिसन सम्पन्न भएका छन् । प्रभात मिडिया एण्ड इभेन्ट प्रा लिले आयोजना गरेको आइडलको दोस्रो, तेस्रो र चौथो अडिसन क्रमशस् चैतन्य पाठशाला, धनगढी मावि र ग्ली एकेडेमीमा सम्पन्न भएको कुरा कार्यक्रमका संयोजक गुणाकर पनेरुले जानकारी गराएका छन् । यस अघि धनगढीकै हिल वर्ड ई. बो. स्कुलमा पहिलो अडिसन समापन्न भइसकेको छ ।
सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरू वि.सं. २०८० को ज्येष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरू मध्ये उत्कृष्ट २० र गायन प्रस्तुति मध्ये उत्कृष्ट १० प्रस्तुतिलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ ।
नृत्य तर्फको विजेता र उप-विजेताले नगद पुरस्कार क्रमश: रु ५० हजार र रु २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप-विजेताले नगद पुरस्कार क्रमश; रु २० हजार र रु १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पाउनेछन् । साथै दुवै विधाका विजेता र उप-विजेताहरूले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।













