काठमाडौँ- प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन्। घिमिरेले १६७ मत ल्याउदै सभामुखमा निर्वाचित भएका हुन्।
गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका घिमिरे २०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका हुन् । उनले स्नातक तह अध्ययन गरेका छन्।
२०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन्। एमालेका स्थायी कमिटी सदस्य रहेका उनी २०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए।
२०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा भएको एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए। उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन्।













